Kathmandu Press

पिएम कप क्रिकेट : सुदूरपश्चिममाथि एपिएफको १० विकेटको जित

मूलपानीमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११.२ ओभरमा विना क्षति पूरा भेट्टायो।
पिएम कप क्रिकेट : सुदूरपश्चिममाथि एपिएफको १० विकेटको जित

काठमाडाैं, कात्तिक १५ : काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली एपीएफले फराकिलो जित निकालेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा जित निकाल्ने क्रममा एपिएफले सुदूरपश्चिमलाई १० विकेटले हरायो।

मूलपानीमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११.२ ओभरमा विना क्षति पूरा भेट्टायो। उसका आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ बलमा २५ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३ ओभरमा ६७ रनमै अलआउट भएको थियो । उसका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए । कमल ऐरी र मौसम ढकालले समान २ विकेट लिए ।

प्रधानमन्त्री कपको समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ५६ रनले हराएको थियो ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्