Kathmandu Press

किशोरदत्त भर्सेस मनबहादुर : कास्की–१ मा समान हैसियतधारीबीच प्रतिष्ठाको लडाईँ 

अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए ।
किशोरदत्त भर्सेस मनबहादुर : कास्की–१ मा समान हैसियतधारीबीच प्रतिष्ठाको लडाईँ 

कास्की, कात्तिक १५ : कांग्रेस र एमाले कास्की जिल्ला नेतृत्वबीच मंसिर ४ गते रोचक भिडन्त हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ कास्की–१ मा कांग्रेसले जिल्ला सभापति किशोरदत्त बराल र एमालेले जिल्ला अध्यक्ष मनबहादुर गुरुङलाई उम्मेदवार बनाएपछि दुई समान हैसियतका व्यक्तिहरु आमनेसामने देखिने भएका हुन् । कुल १४ जनाको उम्मेदवारी परेपनि यस क्षेत्रमा बराल र गुरुङकै टक्कर हुने देखिन्छ। 

अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए । तत्कालीन समयमा अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोरेका थिए ।

अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ । तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । 

यसपटक जित्ने गरी चुनावी मैदानमा उत्रिएको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बराल बताउँछन् । स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा विश्स्त रहेको उनको भनाई छ। ‘मूल प्रसार–प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ,’ उनले भने, ‘जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ।’

एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए। ‘कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ,’ उनले भने, ‘मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु।’

यस निर्वाचन क्षेत्रमा मादी  र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ। गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ। 

स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए ।

सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख)मा ५२ हजार दुई सय ७० मतदाता छन् । सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्