Kathmandu Press

पिएम कप पुरुष क्रिकेटमा गण्डकीकाे विजयी सुरुआत

गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो।
पिएम कप पुरुष क्रिकेटमा गण्डकीकाे विजयी सुरुआत

काठमाडाैं, कात्तिक १४ : गण्डकी प्रदेशले पिएम कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

टियु क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो। गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो।

सुदुरपश्चिमका मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै गजेन्द्र बोहराले ३५ रन जोडे। बसन्त कार्की १० रनमा आउट भए। गण्डकीका विपिन कार्कीले ४ विकेट लिए। सुवास भण्डारी र अभिषेक बस्नेतले २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो। गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले। जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ। गण्डकी समूह ’ए’ को शीर्ष स्थानमा रहेको छ। त्यसअघि सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ।

मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो। प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो। कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ। हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् 

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्