माओवादीको घोषणापत्र : काठमाडौं लगायतका शहरमा मोनो र मेट्रोरेल सञ्चालन गर्ने

काठमाडौं, कात्तिक १४ : नेकपा माओवादी केन्द्रले देशभर रेल सञ्चालन गर्ने महत्वाकांक्षी सपना बाँडेको छ । आइतबार घोषणापत्र जारी गर्दै माओवादी केन्द्रले काठमाडौं उपत्यका र मुलुकका अन्य शहरहरु मोनो र मेट्रोरेल चलाउने सपना देखाएको हो ।
‘पूर्वपश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिने छ,’ घोषणापत्रमा भनिएको छ,‘वीरगञ्ज–काठमाडौंं, रुसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिइने छ।’
माओवादी केन्द्रले काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोविखोला र मनोहरा करिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने बताएको छ ।
त्यतिमात्रै होइन पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य सहरहरूमा मेट्रो र मनोरेल, ट्रली लगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गर्ने प्रतिवद्धता पनि जनाएको छ । ‘कोशी, गण्डकी, कर्णाली लगायतका प्रमुख नदीप्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ,’ घोषणापत्रमा भनिएको छ।
काठमाडौँं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउने संकल्प गरेको छ । प्रदेश तथा पालिकाहरूबाट सबै प्रमुख सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।
घोषणपत्रमा पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, लोकमार्ग तथा द्रुतमार्गहरूको निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्र गतिमा अघि बढाइने उल्लेख छ । त्यस्तै काठमाडौं तराई—मधेश दु्रतमार्गको निर्माया कार्यलाई तीव्रता प्रदान गरिने गर्ने र काठमाडौं उपत्यका र अन्य शहरकाचक्रपथको स्तोरन्नति र बाहिरी चक्रपथको निर्माण कार्य सँगसँगै अघि बढाइने बताइएको छ ।











