माओवादीको घोषणापत्र : भारतसँगको असमान सन्धि खारेज गर्ने, अतिक्रमित भुभाग फिर्ताका लागि पहल गर्ने

काठमाडौं, कात्तिक १४ : नेकपा माओवादी केन्द्रले नेपालको अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग तत्काल कुटनीतिक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार घोषणापत्र जारी गर्दै माआवादी केन्द्रले कालापानी, लिपुलेक र लिम्यिाधुरा लगायत अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग कुटनीतिक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको हो।
त्यस्तै १९९४७ को गोरखा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि, १९५० को शान्ति र मैत्री सम्बन्धी सन्धि, भारतसँगको जलस्रोत र व्यापार तथा पारवहन लगायत सम्पूर्ण असमान सन्धिहरुको पुनरावलोकन गरी खारेज, प्रतिस्थापन वा संसोधन र परिमार्जन गरी राष्ट्रिय हित अनुकुल बनाइने प्रतिवद्धता व्यक्त गरेको छ।
घोषणापत्रमा नेपाल र भारतबीचको खुला सिमानालाई नियन्त्रण र नियमन गर्ने संकल्प गरिएको छ । त्यस्तै असंलग्न परराष्ट्र नीतिलाई अक्षुण्ण राख्दै स्थायी तटस्थताको छविलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
वैदेशिक सहायता, अनुदान र ऋणको मात्रा क्रमशः घटाउँदै लगिने र विदेशी लगानी र ऋणलाई राष्ट्रिय हित अनुकूल आर्थिक पूर्वाधार निर्माण र विकासका लागि मात्र लिने व्यवस्था गरिने माओवादीको प्रतिवद्धता छ । राष्ट्रिय सार्वभौमिकता र हित प्रतिकुलका कुनैपनि वैदेशिक सहयोग अस्वीकार गर्ने घोषणापत्रमा उल्लेख छ।











