एकीकृत समाजवादीको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने, माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने घाेषणापत्रमा उल्लेख छ।
काठमाडौं, कात्तिक १४ : नेकपा (एकीकृत समाजवादी)ले मंसिर ४ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी एकीकृत समाजवादीले ५६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमार्फत एकीकृत समाजवादीले प्रतिगमनविरुद्ध लडेर मुलुकमा लोकतन्त्र जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गरेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार, पर्यटन लगायत विभिन्न क्षेत्रको विकासका निम्ति विभिन्न योजना अगाडि सारिएको छ । एकीकृत समाजवादीले स्थानीय तहको विकासका लागि मनमोहन अधिकारीले सुरु गरेको नौ ‘स’को सिद्धान्तलाई पनि ब्यूँताउने भएको छ ।
कृषितर्फ मल कारखाना खोल्नेदेखि किसानलाई अनुदान, सम्मान र पुरस्कारको व्यवस्था गर्नेसम्मको प्रतिवद्धता घोषणापत्रमा उल्लेख छ । युवालाई पलायन हुन नदिन कृषिमा आकर्षित गर्न ‘विदेशिएका युवालाई स्वदेश फर्काउँ, कृषि उत्पादनमा वृद्धि गरौं भन्ने नारा बनाएर काम गर्ने एकीकृत समाजवादीले जनाएको छ।
तराई÷मधेश र भित्री तराईको कृषिभूमि सिँचाई गर्न तमोर–मोरङ, सुनकोसी–कमला र सुनकोसी–मरिन–बाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी–बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरिएको छ।
त्यस्तै काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्र निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६ लेनामा स्तरोन्नती गर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गलाई चार लेनमा स्तरोन्नती गर्ने र मदन भण्डारी राजमार्ग निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने र कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल भारत सिमानासम्म फराकिला राजमार्ग निर्माण गर्न जोड दिइने घोषणापत्रमा उल्लेख छ ।
कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने, माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने, एक जिल्ला एक बहु प्राविधिक शिक्षालय, एक पालिका एक प्राविधिक विषय’ को अवधारणा अनुसार प्राविधिक शिक्षामा जोड दिइने घोषणापत्रमा उल्लेख छ।











