Kathmandu Press

तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले-कांग्रेस

साे क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका नेता एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले-कांग्रेस

दमौली, कात्तिक १३ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

साे क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका नेता एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस वरिष्ठ नेता पौडेललाई सत्तारुढ गठबन्धनको समर्थन छ। साथै यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राप्रपा नेपालका कृष्णप्रसाद पौडेल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेसनलिस्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन्।

स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री रहेका गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। 

२०७४ सालको निर्वाचनमा पराजित पौडेल यसपटक चुनाव जित्ने दाउमा छन्। न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताए। वरिष्ठ नेता पौडेललाई  ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए। 

'स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत चुनाव जित्नका लागि पर्याप्त छ, हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो', खनाल बताउछन्। एमालेका जिल्ला उपाध्यक्ष हरिराज कँडेल दुई कांग्रेस नेताहरुको प्रतिस्पर्धाले एमाले उम्मेदवारलाई फाइदा हुने बताए। 

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, एमालेका रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी (जसपा) का अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राप्रपा पालका विजयकुमार शाही, मंगाेल नेसनल अर्गनाइजेसनका भिमबहादुर लामा, नेकपा एकीकृत समाजवादीका विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन्। 

तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेका पूर्णबहादुर गुरुङ, जसपाका किसन भुजेल, मंगाेल नेसनलका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। 

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ। व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका यो क्षेत्रमा पर्छन्। यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने एमालेले बन्दीपुर तथा माओवादी केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ। 

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन्। तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ९१० मा ६७ हजार एक सय ४४ र प्रदेश सभा ९२० मा ५६ हजार तीन सय ४६ मतदाता छन्। 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्