देश र जनता विजयी हुन प्रतिगमन पक्षधर हार्नुपर्छ, गठबन्धनले जित्नुपर्छ : प्रचण्ड
'लामो समयको संघर्षपछि प्राप्त उपलब्धि जोगाउन कांग्रेस, माओवादीसहितको गठबन्धन बनेको र संविधान च्यात्न चाहने, जनताले पाएको अधिकार खोस्न चाहनेको अर्कै गठबन्धन बनेको छ।'
काठमाडौं, कात्तिक १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनता विजयी हुन गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
आइतबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र, जनता तथा विकास र समृद्धिको विजयका निम्ति गठबन्धनको विजय आवश्यक रहेको बताएका हुन् ।
उनले मंसिर ४ गते सामान्य निर्वाचन मात्रै नभई प्रतिगमन पक्षधर र अग्रगमन पक्षधरबीचको महासंग्राम रहेको बताए । लामो समयको संघर्षपछि प्राप्त उपलब्धि जोगाउनका निम्ति कांग्रेस, माओवादीसहितको गठबन्धन बनेको र संविधान च्यात्न चाहने, जनताले पाएको अधिकार खोस्न चाहनेको अर्कै गठबन्धन बनेको उनले बताए।
एमालेप्रति लक्षित गर्दै प्रचण्डले विपक्षी गठबन्धनमा हिजोका सामन्तवादी, दलाल र राजवादी रहेको बताए । ‘एकातिर प्रतिगमनको पक्षधर छन् । जनतालाई धेरै अधिकार दिन हुँदैनथ्यो, राजा महाराजाको अधिकार खोस्न हुँदैनथ्यो भन्ने एउटा गठबन्धन छ ,’ प्रचण्डले भने, ‘जनताले जति पाएका छन् त्यो त रक्षा हुनैपर्छ, त्यो भन्दा बढी अधिकार चाहिन्छ भन्ने अर्को गठबन्धन छ । यी दुई गठबन्धनबीच मंसिर ४ मा महासंग्राम हुँदैछ।’
हिजो संविधान मिँचिदै गर्दा त्यसका विरुद्ध सडकमा उत्रदाँ लाखौँ जनताले साथ दिएको पनि प्रचण्डले स्मरण गरे । ‘मंसिर ४ मा फेरि संग्राम हुँदैछ र हामी सबै त्यसमा विजयी हुनु छ । यो राष्ट्रको विजयका निम्ति, जनताको विजयका निम्ति र विकास र समृद्धिको विजयका निम्ति यो गठबन्धन वियजी हुनुपर्दछ,’ उनले भने।











