क्रिकेटर लामिछानेविरूद्ध १२ वर्ष कैद सजायकाे माग गर्दै मुद्दा दर्ता गर्ने तयारी

काठमाडाैं, कात्तिक १३ : नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। साेमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गरिने भएकाे हाे।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।
प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।
लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।











