गृहमन्त्री खाणद्वारा आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक
सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार खाणले खासगरी मुख्यतः भैरहवालाई केन्द्रित गरेर संकल्पपत्र बनाएका छन्। उनले संकल्पपत्रमार्फत भैरहवाको विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिएका छन्।
रुपन्देही, कात्तिक १३ : रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छन्। गृहमन्त्रीसमेत रहेका खाणले जनतासामु आफ्नो ६७बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन्।
सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार खाणले खासगरी मुख्यतः भैरहवालाई केन्द्रित गरेर संकल्पपत्र बनाएका छन्। उनले संकल्पपत्रमार्फत भैरहवाको विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिएका छन्।
आफ्नो निर्वाचन क्षेत्रबाहिरको विकास निर्माणका योजनालाई समेत उनले संकल्पपत्रमा समेटेका छन्। उनले स्थानीय तहमा भइरहेको र सम्पन्न भइसकेका कामलाई संकल्पपत्रमा समावेश गरेका छन्।
संकल्पपत्रको सुरुमै उनले भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिज्ञा गरेका छन्। सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायत विषयलाई संकल्पपत्रमा समावेश गरेका छन्।
सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेसन बनाई त्यसको व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णय गर्ने, सिद्धार्थ राजमार्गको स्तारोन्नति गर्ने, मर्चवार–मुस्ताङ सडक निर्माणलाई विशेष प्राथमिकता दिने, भारतले निर्माण गर्ने एकीकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्नेलगायत विषय संकल्पपत्रमा समेटर आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
संकल्पपत्र सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धनलाई सघाउने बताएको छ। गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार मोजिब अलीले खाणलाई समर्थन गर्दै तालमेल गरेको बताएका हुन्।











