Kathmandu Press

पिएम कप पुरुष क्रिकेटमा पुलिसकाे विजयी सुरुआत

मूलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो।
पिएम कप पुरुष क्रिकेटमा पुलिसकाे विजयी सुरुआत

काठमाडौं, कात्तिक १३ : आइतबार काठमाडौंमा सुरु पिएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ।

मूलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो। पुलिसले दिएको २ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले। यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए। बागमतीका नन्दन यादबले २ विकेट लिए। रामनरेश गिरी, सुर्य तामाङ र सोनु देबकोटाले १/१ विकेट लिए।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ। हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।यस्तै उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्