सिन्धुपाल्चोक-२ : जित कायम राख्ने सुरमा तामाङ, खाता खाेल्ने दाउमा बस्नेत
नेकपा एमालेका तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बस्नेत लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुन्।
मेलम्ची, कात्तिक १३ : सिन्धुपाल्चोक क्षेत्र नं. २ को निर्वाचन रोचक बन्दै गएको छ। प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो।
यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। तामाङ यसअघिको जितलाई कायम राख्ने र बस्नेत यो क्षेत्रमा खाता खोल्ने दाउमा छन्।
नेकपा एमालेका तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बस्नेत लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुन्।
सिन्धुपाल्चोक–१ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुवैको बलियो जिकिर थियो। सभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक–१ पायो भने नेपाली कांग्रेसले सिन्धुपाल्चोक–२ पायो। माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ।
गत स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो। एमालेले ३१ हजार ७ सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार ३ सय दुई मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार ६ सय ६३ मत पाएको थियो।
लामो समय माओवादीबाट राजनीति गर्नुभएका र हालै मात्र एमाले प्रवेश गर्नुभएका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ। गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार रहेका छन्। दुलाल यसअघि २०७४ सालमा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन्।
यस्तै सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ। पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएको थिए। उता सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा कृष्णकुमार तामाङलाई अघि सारेको छ।
गठबन्धनका नेताहरुले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्। देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धीका रुपमा जिल्लामा पनि नेताहरुले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले बताए।
एमालेका नेताले पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन्। स्थानीय तहको निर्वाचनमा भएको मत नियाल्दा पहिलो दल एमाले भए पनि गठबन्धनमा रहेका दलको मत जोड्दा एमालेको मत केही कम देखिन्छ। एमालेका जिल्ला अध्यक्ष कमल नेपालले भने आत्तिनुपर्ने अवस्था नरहेको बताए।
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका छन्। २०४८ सालमा एमालेका अमृतकुमार बोहरासँग पराजित बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बने। २०६४ मा टिकट पाए पनि हार बेहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत भए। अघिल्लो संसदीय चुनावमा उहाँ माओवादी नेता अग्निी सापकोटासँग पराजित भए।
एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हारे भने पछिल्ला दुवै चुनाव जितेको थियो। पहिलोपटक २०५६ सालमा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नुपरेको हो। २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए। तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं. २ बाट विजयी भएको थियो।











