Kathmandu Press

विद्या भट्टराई भर्सेस श्रीनाथ बराल : कास्की–२ मा एमाले विरासत जोगिएला कि भत्किएला ?

सम्पन्न स्थानीय तहको निर्वाचनको मतअनुसार कास्की–२ मा गठबन्धन देखिन्छ ।
विद्या भट्टराई भर्सेस श्रीनाथ बराल : कास्की–२ मा एमाले विरासत जोगिएला कि भत्किएला ?

काठमाडौं, कात्तिक १३ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ। यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी  भएका थिए । विमान दुर्घटनामा उनको निधन भएपछि उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन्। 

त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन्न निर्वाचनमा एमाले उक्त बिरासत जोगाउने कसरतमा त छ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त बिरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।
    
अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासो र रोचकरुपमा हेरिएको छ ।
    
विसं २०७४ को निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभएको थियो । अधिकारी त्यसअघि २०६४ र २०७० मा भएको संविधानसभाको निवार्चनमा पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
    
हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधनपछि २०७६ को उप–निर्वाचनमा २४ हजार तीन सय ९४ मत ल्याएर अधिकारी पत्नी भट्टराई विजयी बन्दा उनकी  प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत प्राप्त गरेका थिए। 

विसं २०७४ मा एमाले माओवादीसहितको वाम गठबन्धन रहेकोमा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेका कारण पनि विद्यालाई जित्न सजिलो भएको थियो। अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । 

नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतले गठबन्धनलाई बलियो देखाउँछ ।कास्की–२मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने पाँच वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २१ हजार एक सय ६४ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय मत प्राप्त गरेका थिए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत प्राप्त गर्दा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ९८ मत पाउँदा स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए । वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ, भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । कास्की क्षेत्र  २ निर्वाचन क्षेत्र बदलीरहने क्षेत्रमा पर्दछ ।

०४८ देखि ०६४ सम्म तीनवटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ०६४ देखि ०७० सम्म चार वटा क्षेत्र कायम गरिएको थियो । तर २०७४ पछि पुनः तीन वटा निर्वाचन क्षेत्र कायम भएका छन् । पछिल्लो भौगोलिक संरचना अनुसार यो क्षेत्र साविक तीन नम्बरका अधिकांश वडा मिलाएर बनाइएको छ । यस अघि तीन नम्बर क्षेत्रका सात र दुई नम्बरका चार वटा वडा हाल यस क्षेत्रमा पर्दछन् । पहिलेका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले तीन नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० भने दुई नम्बर क्षेत्रमा पर्दथे । २०६४ अघि दुई नम्बर क्षेत्र आठ वटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो ।
    
यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । विसं २०४६ को प्रजातन्त्रको पुनःस्थापनापछि भएका छ वटा संसदीय निर्वाचनमा हालको यस क्षेत्रले चर्चेका स्थानमा पाँच पटक एमालेले चुनाव जितेको छ, भने एक पटक मात्र कांग्रेसले जितेको छ ।
    
यस क्षेत्रबाट महादेव गुरुङ कांग्रेसबाट विजयी बनेका थिए । नेकपाबाट तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी हुँदै विद्या भट्टराई विजयी बनिन् । तुलबहादुर गुरुङ  क्षेत्रमा गुरुङ दुई पटकसम्म विजयी बने भने अधिकारी तीनपटक विजयी बने। 

अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणि तिवारी पराजित बने भने दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शोभियतबहादुर अधिकारी पराजित भए । तेस्रो पटक चुनाव जित्दा अधिकारीसँग कांग्रेसका देवराज चालिसे निकटतम प्रतिस्पर्धी थिए । भने त्यसअघि गुरुङसँग दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित बनेका थिए। 
    
यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांशतः विकासको दृष्टिले पछि परेको मतदाताको गुनासो छ । महानगरका रुपमा विभिन्न किसिमका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न नपाएको पोखरा–३३, भरतपोखरीका मतदाता सुनिल लामिछाने बताउँछन् । ‘हाम्रा लागि महानगरको घोषणा केबल पहिचान मेटिने, डाँडाकाँडा भेटिने जस्तै भएको छ,’ उनले भने, ‘कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न पाएका छैनौँ।’ भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवास लगायतका धेरै गाउँ तथा बस्ती विकासमापछि परेको उनले बताए।
    
यस क्षेत्रको विकासका लागि नीतिगत योजना आवश्यक रहेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल बताउँछन् । यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको सम्बोधनसँगै गरिबीको रेखामुनी रहेको सर्वसाधारणलाई स्वरोजगार बनाउने किसिमका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको उनले बताए । 

कृषिको आधुनिकीकरणसँगै सडक, खानेपानी, विद्युत् लगायतका पूर्वाधार विकासका योजनालाई अघि बढाउने उनले विश्वास व्यक्त गरे। महानगर भएर पनि विकास लगायतका कारण महानगरको अनुभूति गर्न नपाएका सर्वसाधारणलाई त्यसको अनुभूति हुने गरी समृद्धि र विकासका योजना ल्याउनु जरुरी भएको उनले बताए। महानगरका ११ वडा समेटिएको यस क्षेत्रमा महानगरीय विकासको मोडल स्थापित गर्नुपर्ने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई बताउँछिन्।  

प्राकृतिक साधनस्रोतले सम्पन्न यस क्षेत्रमा यहाँका प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने किसिमले अघि बढ्नुपर्नेमा उनले जोड दिइन्। हिमाललाई एकसाथ अवलोकन गर्न सकिने स्थानको संरक्षण र विकाससँगै प्राकृतिक रुपमा रहेको गुफालाई पर्यटकीय रुपमा जोड्नेलगायतका योजना आफूसँग रहेको उनले बताइन्। गरिबी एवं पिछडीएका वर्ग समुदायको समुत्थान पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।

कूल ७९ हजार एक सय ३८ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क)मा ४२ हजार दुई सय ८२ र प्रदेशसभा (ख) मा ३६ हजार आठ सय ५६ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।  

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्