Kathmandu Press

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ।
चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

चितवन, कात्तिक १३ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन्।

सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ।
 
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको उनले बताए।
 
अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताए। सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ।

जिल्लामा एक हजार दुई सय नेपाल प्रहरी र एक हजार नौ सय ९१ म्यादी प्रहरी खटिँदैछन्।
 
जिल्लामा कुल एक सय ६२ मतदानस्थल छन् । जसमा चार सय ६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । यो विसं २०७४ को निर्वाचनभन्दा १० हजार छ सय ५७ जना बढी हो। मतदातामध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्।

प्रकाशित मिति: ०९:२९ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्