दक्षिण कोरियामा भागदौड, १४९ जनाको मृत्यु
अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।
सउल, कात्तिक १३ : दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ।
हेलोविन पर्व इभ मनाउने क्रममा भएको भागदौडमा मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बताइएकोछ। सो भागदौडमा ८२ जना घाइते भएका छन् ।
तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।
हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हेलोविन इभ मनाउन दिइएको थियो।
सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ।
अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दुःख व्यक्त गरेका छन्।
दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।












