Kathmandu Press

छठको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्- सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुन्छ

छठको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्- सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुन्छ

काठमाडौं, कात्तिक १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

छठपर्व, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरिन्।

'छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु,' राष्टपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन्।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ।

बिनाभेदभाव सम्पूर्ण प्रणालीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अध्र्य दिएर छठपर्व मनाइन्छ।

प्रकाशित मिति: ०८:३० बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्