फिलिप्सको शतकमा न्युजिल्यान्डको सानदार जित
शनिबर सिड्नीमा भएको खेलमा ग्लेन फिलिप्स ब्याटमा र ट्रेन्ट बोल्ट बलमा चम्किएपछि न्युजिल्यान्डले श्रीलंकामाथि ६५ रनको जित निकाल्यो।
काठमाडाैं, कात्तिक १३ : अस्ट्रेलियामा जारी टि २० विश्पकपमा न्युजिल्यान्डले सानदार जित निकालेको छ। शनिबर सिड्नीमा भएको खेलमा ग्लेन फिलिप्स ब्याटमा र ट्रेन्ट बोल्ट बलमा चम्किएपछि न्युजिल्यान्डले श्रीलंकामाथि ६५ रनको जित निकाल्यो।
सुपर १२ मा न्युजिल्यान्डको यो दोस्रो जित हो । ३ खेलमा न्युजिल्यानडको ५ अंक भएको छ । ३ खेलबाट २ अंकसहित श्रीलंका पाँचौ स्थानमा छ ।
सिड्नीमा न्युजिल्यान्डले दिएको १६८ रन लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १०२ रनमै अलआउट भयो। श्रीलंकाका लागि कप्तान दसुन सनकाले सर्वाधिक ३५ र भानुका राजपाक्षेले ३४ रन बनाए।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका बोल्टले घातक बलिङ गरे। उनले ४ ओभरमा १३ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै मिचेल सान्टनर र इश सोधीले समान २ विकेट लिए । टिम साउदीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि १५ रनमै ३ विकेट गुमाएको न्युजिल्यान्डको इनिङ्स फिलिप्स र डारेल मिचेलले उकासेका थिए । यी दुईले ८४ रनको साझेदारी गरे । फिलिप्सले ६४ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा १०४ रन बनाए भने मिचेलले २२ रन जोडे ।
श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए ।
विश्वकपअन्तर्गत आज बगंलादेश र जिम्बाबे तथा पाकिस्तान र नेदरल्यान्ड्स भिड्ने छन्।











