Kathmandu Press

निर्वाचन आचारसंहिता पालना गर्न नागरिक अगुावको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न नागरिक अगुावको आग्रह

काठमाडौं, कात्तिक १३ : निर्वाचन आचारसंहिता उल्लंघन नगर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव दिए।

मतदाता शिक्षाबारे  ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे। “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्छ,” उनीहरुको भनाइ थियो ।

आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने जनाउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानुन र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने माग गरे। कानुन, आचारसंहिता उल्लङ्घनकर्तालाई कारबाही गर्ने परम्परा नभएकाले उल्लङ्घन बढदै गएको उनले बताए।

निर्वाचन क्षेत्रका मतदाता प्रभावित गर्न आश्वासन बाँड्ने, पदीय लोभ दिएर पार्टी प्रवेश गराउने काम सुरु भएको जनाउँदै प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले सबै पेशाका व्यक्ति राजनीतिक दलमा आबद्ध हुने गलत परम्पराका कारण कर्मचारीसमेत चुनावमा प्रचारमा होमिने गरेको बताए।

ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि भट्टराईले चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तिर्नै नसक्ने जरिवाना तोकेर निर्वाचन आयोगले स्वयं कानुन पालना नहोस् भन्ने चाहेको उल्लेख गरे।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सहमतिमा बनेको आचारसंहिता पालनामा दलीय नेतृत्वका पात्रहरू ‘रोल–मोडल’ बन्नुपर्नेमा बहकिएको आरोप लगाउँदै नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीले निगरानी गरिरहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले मतदाता शिक्षा र आचारसंहिता पालना नगरे पनि हुन्छ भन्ने मानसिकता देखिएको आरोप लगाए। विभिन्न चोक, गल्ली, सवारीसाधनमा ठूला व्यानर टाँगेर सभा, सम्मेलन गर्न सुरु गरिएको जनाउँदै सहभागीले बेलैमा रोक्ने प्रयास नभएमा देखासिकी आचारसंहिता उल्लङ्घनको प्रतिस्पर्धा बढ्ने भएकाले निर्वाचन आयोग कठोर बन्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले सप्तरीमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक  सत्यनारायण यादवको हत्या, वरिष्ठ अधिवक्ता सुरेन्द्र यादवको विष्णुपुर गाउँपालिका–६ स्थित घरमा भएको पेट्रोल बम प्रहारलगायत मानवअधिकार हननका घटनाबारे जानकारी गराएका थिए।

 

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्