काभ्रेलीलाई लागेको दाग यो निर्वाचनमा पखालिनेछ : हुमागाई
उनले ७० वर्षदेखि तरुण युवाहरुको योगदानले संविधान पाएको बताए । युवाहरु पार्टीमा स्थापित हुँदै गएको र युवाहरुको लागि नेपालमा एक मात्र पार्टी कांग्रेसको तरुण दल रहेको बताए ।
काभ्रे, कात्तिक १२ : काभ्रे क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई लागेको दाग यो निर्वाचनबाट पखालिने बताएका छन् ।
नेपाल तरुण दलको काभ्रेका लागि केन्द्रीय प्रतिनिधी सुधिर बैद्यको संयोजनमा बनेपामा भएको कार्यक्रममा बोल्दै हुमागाईले निर्वाचन परिणामले त्यो बिषय प्रमाणित गर्ने बताए ।
‘यसअघि निर्वाचन जितेर गएका यस क्षेत्रका प्रतिनिधीले काभ्रेलीलाई लगाएको दाग सत्य हैन, काभ्रेली जनता स्वाभिमानी छन्, निष्कलंक छन् भन्ने कुरा मतपरिणामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएको छु,’ उनले प्रश्न गर्दै भने, ‘आलोचित अनुहार फेरि जिताउने हो र? काभ्रेली माथि लागेको दाग सफा गर्न नै मेरो उम्मेदवारी हो ।’
उनले संविधान निर्माण र रक्षाको लागि तरुणहरुको भूमिका अतुलनीय हुने बताए । युवाहरुको योगदानले नै मुलुकमा संविधान आएको भन्दै यसको रक्षा गर्न पनि युवाहरु लागि पर्नुपर्ने बताए ।
युवाहरुको सम्मान गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै उनले गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा पार्टीको नेतृत्वमा पुगेको बताए । उनले तरुणहरुको भुमिकाको कदर गर्ने भन्दै सिप र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने बताए ।

उनले २०५६ सालको निर्वाचनमा आफू प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि गरेका कामको फेरिहस्त सुनाए । बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफूले सुरुवात गरेको भन्दै उनले २०५६ सालमा आफू निर्वाचित भएपछि शुरु गरेको काभ्रे एकिकृत खानेपानी आयोजना सम्पन्न गरेर खानेपानी खुवाउनले प्रतिवद्धता व्यक्त गरे ।
सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई आफ्नो कार्यकालमा शुरु गरेको भन्दै उनले सूचना प्रविधी (आइटी) पार्क, बनेपा बहुप्राविधिक महाविद्यालय आफ्नो नेतृत्वमा शुरुवात भएको बताए । चण्डेश्वरी मन्दिरमा गजुर राख्ने सौभाग्य आफूलाई प्राप्त भएको भन्दै उनले बनेपा बजार क्षेत्रको मापदण्ड ७५ गज कायम गर्न पनि आफूले नेतृत्वसहित पहल गरेको बताए ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र बादले युवाहरुलाई उचित मूल्याकंनसहित भुमिका दिइने बताए। उनले जबजब देशमा संकट पर्छ त्यसबेला कांग्रेसले नेतृत्व गर्नुपर्ने इतिहास रहेको भन्दै उनले संविधानको रक्षाको लागि कांग्रेसको जित आवस्यक भएको बताए ।
कार्यक्रममा कांग्रेसका प्रदेश महामन्त्री राजु श्रेष्ठ, प्रदेश सभा समानुपातिक उम्मेदवार सुरकृष्ण बैद्य, तरुण दल काभ्रेका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सदस्य राम जोशी, निर्वाचनका नेपाल तरुण दलको काभ्रे जिल्ला प्रति सुधिर बैद्य, तरुण दल बनेपाका सभापति विजेन रञ्जित लगायतले निर्वाचनमा तरुणहरुको महत्वपूर्ण योगदान हुने भन्दै सोही अनुसार परिचालन गर्न नेतृत्वलाई अनुरोध गरे।
कार्यक्रममा तरुण दल बनेपासंग आवद्ध रही निरन्तर कृयाशिल रहेका २८ जना तरुण युवाहरुलाई सम्मान गरिएको थियो ।











