Kathmandu Press

चित्लाङमा आन्तरिक पर्यटकको घुइँचो, बस्ने ठाउँ नपुगेर एकैदिन दुई हजार बढी फर्किए

काठमाडौं उपत्यकाबाट निकै नजिक (कलंकीबाट १९ किलोमिटर) भएका कारण पनि चित्लाङ विकेन्ड मनाउन चाहनेहरुको पहिलो रोजाइमा पर्न थालेको हो। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रमणीय चित्लाङ उपत्यकाले जोसुकैलाई मोहनी लगाउँछ।
चित्लाङमा आन्तरिक पर्यटकको घुइँचो, बस्ने ठाउँ नपुगेर एकैदिन दुई हजार बढी फर्किए

मकवानपुर, कात्तिक १२ : चित्लाङ उपत्यका पछिल्लो समय विकेन्ड मनाउन युवाहरूको मुख्य रोजाइमा पर्न थालेको छ। जसकारण शुक्रबार र शनिबार चित्लाङमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो।

काठमाडौं उपत्यकाबाट निकै नजिक (कलंकीबाट १९ किलोमिटर) भएका कारण पनि चित्लाङ विकेन्ड मनाउन चाहनेहरुको पहिलो रोजाइमा पर्न थालेको हो। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रमणीय चित्लाङ उपत्यकाले जोसुकैलाई मोहनी लगाउँछ।

सामान्यतय हरेक शुक्रबार चित्लाङका प्राय सबै रिसोर्ट र होमस्टेहरू आन्तरिक पर्यटकले भरिभराउ हुने गर्दछन्। तर, तिहारपछि रहेको दुई दिने थप विदामा घुम्नेहरूको संख्या बढेपछि भने चित्लाङमा थामिनसक्नु भिड भएको थियो।

चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक शैलेश नेपालका अनुसार हिजो (शुक्रबार) दुई हजारभन्दा बढी पर्यटक ठाउँ नभएर फर्किएका छन्।

‘चित्लाङ प्राय हरेक शुक्रबार फुल नै हुन्थ्यो, तर यसपाली भने कहिल्यै नदेखेको भिड भयो। सम्भव भएसम्म त हामीले धेरैलाई होमस्टे तथा आवासीय घरहरूमा पनि बस्ने व्यवस्था मिलायौं,’ नेपालले भने, ‘तर जति प्रयास गर्दा पनि दुई हजारभन्दा बढिलाई बस्ने ठाउँको अभावमा फर्काउन बाध्य भयौं।’

chitlang bhid 21667056994.jpg
तस्बिर सौजन्यः चित्लाङ रिसोर्ट

शुक्रबार चित्लाङमात्र होइन मार्खु र कुलेखानीका पनि सबै रिसोर्ट र होमस्टेहरू भरिएका थिए। चित्लाङमा बस्ने ठाउँको अभाव भएर मार्खु र कुलेखानी पुगेका आन्तरिक पर्यटकरु पनि निराश भएर फर्किन वाध्य भएका थिए।

मार्खु, चित्लाङ र कुलेखानी काठमाडौंबाट नजिकै रहेका चर्चित विकेन्ड डेस्टिनेसनहरू हुन्। विकेन्डमा सधैं भरिभराउ हुने यी पर्यटकीय गन्तव्यहरूमा हाइकिङ, बोटिङ, क्वाडबाइक राइडलगायतका विभिन्न क्रियाकलाप गर्न पाइन्छ।

‘चित्लाङमा हिजो (शुक्रबार) लगभग ९०० जना गेस्टहरू हुनुहुन्थ्यो। हाम्रो रिसोर्टमा बस्ने ठाउँ नभएपनि हामीले होमस्टे तथा स्थानीयको घरमा बस्ने व्यवस्था मिलाएर खानपिनको प्रबन्ध रिसोर्टमै गरेका थियौं। त्यति गर्दा पनि सबैलाई अँटाउन सकेनौं,’ चित्लाङ रिसोर्टका संचालक शैलेश नेपालले काठमाडौं प्रेसलाई भने।

कुलेखानी हिल लजका संचालक अमिर लामाको अनुभव पनि उस्तै थियो। ‘मार्खु, कुलेखानी, चित्लाङ शुक्रबार भिड नै हुने ठाउँ हुन्। तर यति धेरै भिड कहिले देखेको थिइनँ। रिसोर्ट र होमस्टे सबैतिर गरेर यहाँ ६०० भन्दा बढी गेस्टहरु हुनुहुन्थ्यो, चाहेर पनि हामीले सबैलाई अँटाउन सकेनौं,’ लामाले भने।

पछिल्लो समय काठमाडौं उपत्यका आसपासका गन्तव्यहरूमा विकेन्ड मनाउने युवायुवतीहरूको संख्या बढिरहेको छ। कोभिड संक्रमणले लामो समय थलिएको पर्यटन व्यवसायका लागि यो सकारात्मक संकेत हो। यसले पर्यटन व्यवसायीहरूमा उत्साह पनि थपेको छ।

यही उत्साहमा मार्खु र चित्लाङका पर्यटन व्यावसायिहरू आफ्नो ठाउँमा नयाँ एडभेन्चर स्पोर्ट्स थप्ने योजना समेत बनाइरहेका छन्। हाल त्यहाँ क्वाडबाइक राइड, बोटिङ, हाइकिङ र साइक्लिङलगायतका सुविधा उपलब्ध छन्।

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्