यस्ता छन् समावेशी लोकतन्त्रका लागि कांग्रेसले प्रस्तुत गरेका पाँच आधार
शनिबार सार्वजनिक गरिएको घोषणपत्रमा सविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्न तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउँदै समुन्नतिकोे मार्ग नेपाली कांग्रेसको अबको राजनीतिक कार्यदिशा हुने उल्लेख छ।
काठमाडौं, कात्तिक १२ : सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि जारी गरेको घोषणापत्रमा समावेशी लोकतन्त्रका पाँच आधार प्रस्तुत गरेको छ।
शनिबार सार्वजनिक गरिएको घोषणपत्रमा सविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्न तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउँदै समुन्नतिकोे मार्ग नेपाली कांग्रेसको अबको राजनीतिक कार्यदिशा हुने उल्लेख छ।
‘नेपाली कांग्रेसले संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबको प्रगति र प्रतिष्ठा सहितको जीवनयापन गर्न पाउने वातावरण निर्माणका लागि समावेशी लाकतन्त्रका निम्न पाँच ‘प’मा आधारित मान्यता अंगीकार गद ंछ,’ घोषणपत्रमा भनिएको छ।
समावेशी लोकतन्त्रका पाँच आधार यस्ता छन्ः
१. पहिचान
बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशिष्ट अवस्था नेपालको मौलिक पहिचान हो । पहिचानलाई निषेध गरेर होइन, सहअस्तित्व र सबैको सम्मानबाट नै साझा नेपाली पहिचान स्थापित र विकसित हुनसक्छ । नेपाली कांग्रेसले विविधताभित्रको एकता आम नेपालीको सच्चा राष्ट्रियता भन्ने मान्यताका साथ सबैको पहिचानको सम्बोधन, संरक्षण र सम्मान गर्ने छ ।
२. प्रतिनिधित्व
नपाली कांग्रेसले नेपालभित्र रहेका सबै तहमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्न उद्देश्यले संविधान, कानुन र राज्य संरचना त्यसैअनुरुप विकास गर्दै जानेछ।
३. पहुँच
नेपाली कांग्रेस राज्यका सबै तह, निकाय र क्षेत्रमा जाति, भाषा, लिङ्ग, वर्ग, क्षेत्र, समुदाय र समूहको समान ढङ्गले पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छ । कानूनको समान संरक्षण, व्यक्तिको
स्वतन्त्रताको समान उपयोगसँगै बञ्चितिकरणमा परेका समुदायहरूलाई सामाजिक न्यायको सुनिश्चितताका लागि राज्यद्वारा विशेष व्यवस्था गर्ने छ ।
४. प्रतिष्ठा
प्रत्येक व्यक्ति आफ्नो भाषाको प्रयोग गर्न, आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन, आफ्नो संस्कृति र साँस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न, आफ्नो धार्मिक परम्परा
अनुसार आस्था प्रकट गर्न तथा आफ्नो रोजाई अनुसारको पेशा व्यवसाय गर्न स्वतन्त्र रहेको अवस्थामा नै हरेक व्यक्तिको प्रतिष्ठाको सम्मान गर्न कटिवद्ध छ ।
५. प्रगति
व्यक्तिको कुनै पनि अवस्थामा स्वतन्त्रता कुण्ठित नहुने, आफुले चाहेको पेशा–व्यवसाय निर्वाधरुपमा गर्न पाउने तथा मर्यादित जीवनका लागि आर्थिक समृद्धिका न्यूनतम आधारहरूको सुनिश्चितता भएको अवस्थामा मात्रै व्यक्तिको प्रगति सम्भव हुने भएकाले नेपाली कांग्रेस व्यक्तिमा अन्तर्निहित क्षमतालाई पहिचान गरी राज्यले प्रवद्र्धन, विकास र उपयोग गर्ने वातावरण सृजना गर्न प्रतिबद्ध छ ।











