Kathmandu Press

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय थिए : प्रधानमन्त्री देउवा

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय थिए : प्रधानमन्त्री देउवा

ललितपुर, कात्तिक ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन। ललितपुरको मङ्गलबारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भने, 'शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए। 'उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पुर्‍याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ ।' मन्त्री श्रेष्ठले भने। 'देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ।'

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औँल्याए। 'उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ ।' नगरप्रमुख महर्जनले भने, 'उहाँ जीवतै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।'

सत्यमोहन जोशका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताए। 'नागरिकको नाममा जीवितै छँदा मुद्रा र हुलाक टिकट निस्कनु, मृत्युु भएपछि सम्मानमा सार्वजनिक बिदा घोषणा गर्नु ठूलो कुरा हो । हामी राज्य प्रति कृतज्ञता ज्ञापन गर्छौँ,' जोशीले भने।

नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराए। भाषा साहित्यको विकासमा सहयोग पुर्‍याउनका लागि हाल ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरिएको महर्जनले बताए।

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्