Kathmandu Press

सल्यानटार पुगेर प्रचण्डले भने– बुढिगण्डकी जलविद्युत आयोजना समयमै सम्पन्न गर्न पहल गर्छु

गोरखाबाट उम्मेदवारी दर्ता गराउँदै गर्दा आफूले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले बताए
सल्यानटार पुगेर प्रचण्डले भने– बुढिगण्डकी जलविद्युत आयोजना समयमै सम्पन्न गर्न पहल गर्छु

काठमाडौं, कात्तिक ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

शुक्रबार धादिङको सल्यानटारमा सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो लागि धादिङ र गोरखा एउटै भएको बताउँदै यहाँ निर्माण हुने विकासका परियोजनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

गोरखाबाट उम्मेदवारी दर्ता गराउँदै गर्दा आफूले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण समयमै सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । ‘धादिङवासी नेता कार्यकर्ता साथीहरुका अगाडि पनि म त्यो प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने। 

अध्यक्ष प्रचण्डले बुढिगण्डकी बहुआयामिक राष्ट्रिय गौरवको आयोजना भएका कारण यसले देशकै अर्थतन्त्रलाई परिवर्तन गर्ने बताए । ‘त्यसकारण यसलाई सफल पार्नुपर्छ भनेर सुरुदेखि त्यसमा लागिरहेका छौं,’ उनले भने। पछिल्लो चरण मुआब्जासम्बन्धी कुरामा उर्जा मन्त्रालयमार्फत तदारुकताका साथ यसलाई अगाडि बढाउन काम भइरहेको उनले जानकारी दिए। 

उनले सल्यानटारमा आफ्नै पहलमा उर्जामन्त्री बीना मगर रहँदा ४२ करोडको खानेपानी परियोजना अगाडि बढाइएको पनि बताए । त्यस्तै  सिंचाईको लागि डिपिआर तयार भएको छ र यसलाई पनि महत्वपूर्ण परियोजनाको रुपमा लिएर भएको डिपिआरलाई अगाडि बढाउन आफ्नो  तर्फबाट कोशिष हुने उनले बताए। 

सल्यानटारलाई सहरीकरण गर्न मेरो तर्फबाट हुने सबै काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रचण्डले धादिङको सडक निर्माण लगायतका कामहरु समयमै सम्पन्न गर्न आफूले जोड दिने बताए। जोड रहनेछ। 
 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्