महोत्तरी–३ : महन्थ ठाकुरलाई हरिनारायण र वृशेषचन्द्रको चुनौती
ठाकुरलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र उनकै सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका वृषेशचन्द्र लालकाे चुनाैती छ।
बर्दिबास, कात्तिक ११ : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ । ठाकुर यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध भएर पछिल्लो समय मधेस केन्द्रित राजनीतिमा लागेका थिए ।
तत्कालीन समयमा उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेका थिए। आठ बुँदे सम्झौतापछि ०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी सर्लाहीबाट पराजित भएका थिए।
त्यस्तै ०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उनी पराजित भएका थिए। ०७४ को निर्वाचनमा महोत्तरी–३ बाट उम्मेदवारी दिएका ठाकुर १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए । २६ हजार ८ सय ४५ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याएका थिए।
ठाकुरलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरको चुनौती छ ।क्षेत्र नं ३ बाटै लोसपा नेपालका अध्यक्ष ठाकुरका सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका वृषेशचन्द्र लालले उम्मेदवारी दिएपछि उनलाई यसपटकको चुनाव पहिलेजस्तो सहज छैन।
महोत्तरी क्षेत्र न ३ मा ९९ हजार ९३० मतदाता छन् । स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ । यस क्षेत्रमा पाँच वटा स्थानीय तह छन् ।जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिका, एकडारा र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ । वैशाख ३० को स्थानीय निर्वाचनमा पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको थियो। (राससकाे सहयाेगमा)











