Kathmandu Press

ग्यास सिलिन्डर पड्कँदा होटेलमा आगलागी

तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो।
ग्यास सिलिन्डर पड्कँदा होटेलमा आगलागी

मकवानपुर, कात्तिक ११ : हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आगलागी भएको छ।

बिहीबार दिउँसो ग्यास सिलिन्डर पड्किँदा सो आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो।

आगलागीको घटनापछि हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ । होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब २० लाखको क्षति भएको बताए।

प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ।

प्रकाशित मिति: ०७:०८ बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्