मतदाता फकाउन खेतबारीमै उम्मेदवार
घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्।
पर्वत, कात्तिक १० : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवारहरु गाउँ छिरिसकेका छन्।
घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्।
उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ। त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन्।
“नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, धाइरिङकी नवीना आचार्यले भनिन्, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ।”
धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांग्रेसका युवानेता याम परियारले भने, “अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छौँ ।”
कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर एक सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन्।
यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ।
महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्कनुभएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिन्छन्। उनी देशको बिग्रँदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित छन्।
उनी भन्छन्, “पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु । गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।”
कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एकपटक भिड्न लाग्नुभएको छ । गिरीले तीन पटकसम्म लगातार निर्वाचन जितेका छन्।
प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार भनेका छन् भने खमा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार छन्।











