Kathmandu Press

नेपाल संवत् ११४३ को स्वागत

बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना ¥याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ।
नेपाल संवत् ११४३ को स्वागत

काठमाडाैं, कात्तिक ९ : चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज विहान सूर्योदयसँगै स्वागत गरिएको छ ।

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना ¥याली निकाल्ने तयारी भएको नयाँ वर्ष  (न्हूँ द) मूल समारोह समितिले जनाएको छ।

यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं. ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।
 
“लच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भन्नुभयो ।
 
विसं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखिनै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

प्रकाशित मिति: ०९:४३ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्