चुनाव पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन हुन्न : आयुक्त थपलिया
उनले आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरि निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरे ।
काठमाडौं, कात्तिक ७ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् ।
दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आज सोमवार शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले चुनाव विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताएका हुन् । उनले आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरि निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरे ।
‘आपसी सद्भाव र सांस्कृतिक महत्त्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाडपर्वलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु’, प्रमुख आयुक्त थपलियाले भनेका छन्, ‘चाडपर्वको मौका पारी चुनावका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदातालाई अवाञ्छितरूपमा प्रलोभन दिने र प्रभावित पार्नेजस्ता गतिविधिहरू नगर्न म सम्बन्धित दल, उम्मेदवार र सबै मतदातामा अपिल गर्दछु ।











