Kathmandu Press

‘नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ’

‘नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ’

काठमाडौं, कात्तिक ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवद्र्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन्। 
    
चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए। 

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै मन्त्री श्रेष्ठले सरकारले नेपाल संंवत्लाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।

नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजका रुपमा रहेको नेपाल संवत्को संरक्षण, संवद्र्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवत्को प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 
 
प्रगतिशील सामाजिक अभियानकर्मी तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत् प्रचलनमा ल्याउने कार्यको मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। सरकारले यसअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यतासमेत दिइसकेको छ। साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकाले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्