देउसीभैलो खेल्न सुरू
तिहारमा देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गरिन्छ।
काठमाडाैं, कात्तिक ७ : तिहारका अवसरमा उल्लासपूर्वक देउसीभैलो खेल्न सुरू भएको छ।
तिहारमा देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गरिन्छ। तिहारको पाँचौं दिनसम्म नै विभिन्न मनोरञ्जनका साथ घरघरामा गएर देउसी खेली रमाइलो गरिन्छ। बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ।

तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन्। केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन्। उनीहरुले साँझ मात्रै नभएर दिउँसै पनि देउसीभैलो खेलेका छन्। मुलुकका विभिन्न भूभागसहित राजधानी काठमाडाैंमा पनि देउसी खेल्ने समूहहरू देखिएका छन्।

देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ। पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भूभाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए।

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको संस्कृतिविद्हरुको भनाइ छ। आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएको कथन छ।














