Kathmandu Press

सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक

यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन्। चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन्। 
सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक

काठमाडाैं, कात्तिक ७ : हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ। तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ।

यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन्। चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन्। 

यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ। कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ। कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्युमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताइन्। उनले भनिन्, 'यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो'
 
महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एकदुईवटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा. देवानले भने, 'त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ।'
    
सामान्य मानिसले पनि  चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो। यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ। 

कलेजो रोग विशेषज्ञ डा. रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए। कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो। डा. श्रेष्ठले भने, 'पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ।' 

जन्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैनभन्दा पनि कम खान सुझाव दिए। उनले भने 'घ्यु, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ।' 

'चार्ड मनाउनुुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ।' डा. अधिकारीले भने 'पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ।' पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उहाँले भने 'पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन।' खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन। 

डा. अधिकारीले थपे,  'शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔं।' चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ। समयमै खानपानमा ध्यान दिन सके समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उनीहरुको सुझाव थियो। 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्