पौडेल समूहलाई मनाउने सभापति देउवाको प्रयास असफल
काठमाडौं, मंसिर २८ : पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने भन्दै बैठक बहिष्कार गरेको संस्थापन इ....
काठमाडौं, मंसिर २८ : पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने भन्दै बैठक बहिष्कार गरेको संस्थापन इतर समूहलाई सहमतिमा ल्याउन सभापति शेरबहादुर देउवाले अग्रसरता देखाएका छन्।
१४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म बैठकमा सहभागी नहुने बताइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई मनाउन सभापति देउवाले छलफल अघि बढाएका हुन्। सहमति जुटाउने पहल स्वरूप सभापति देउवाले वरिष्ठ नेता पाैडेललाई भेट्न शनिबार बिहान उनकै निवास बोहोराटार पुगेका थिए।
पौडेललाई भेट्न निवासमै पुगेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा सहभागी भएर विभाग गठन, भ्रातृ संगठनको तदर्थ समिति बनाउन आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर, पौडेलले देउवाको आग्रहलाई अस्वीकार गरिदिएका छन्।
पौडेलले सभापति देउवालाई १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने प्रष्ट पारेका छन्। बोहोराटार स्रोतका अनुसार पौडेलले महाधिवेशनको कार्यतालिकासहित उपस्थित भए छलफल गर्न सकिने बताएका थिए।
पौडेलले महाधिवेशनको कार्यतालिका बाहेक अरु विषय तपशिलका भएको बताएका थिए। सभापति देउवाले भ्रातृ संगठनको निर्वाचन हुन नसकेको अवस्थामा आफूलाई तदर्थ समिति बनाउन र विभाग गर्न गर्न सहयोग गर्न प्रस्ताव गरेका थिए।
तर, पौडेलले भने सबै विषय प्याकेजमै टुंगो लगाउनु पर्ने र महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेण्डा बनाउनु पर्ने बताएका थिए।
बैठकमा सहभागी पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले छलफलमा महाधिवेशनको कार्यतालिका नै आफूहरुको प्रमुख एजेण्डा भएको जानकारी सभापतिलाई गराइएको बताए।
‘उहाँ (पौडेल) ले पनि यहीँ कुरा राख्नु भयो। तर, सभापति देउवाले भने मलाई विभाग गठन, नेपाल विद्यार्थी संघ र तरुण दलको नयाँ समिति गठनमा सहयोग गर्नुस् भन्नु भयो,’ उनले भने,‘यो काम सकिएपछि महाधिवेशनको कार्यतालिका ल्याउँछु तर त्यसका लागि समायोजनको काम सकिनु पर्छ।’
कांग्रेसले निर्वाचनअघि एकीकरण भएको विजय गच्छदार नेतृत्वको पार्टी र अन्य पार्टीबाट कांग्रेसमा आएका नेता तथा कार्यकर्ताको समायोजनको काम गर्न राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी नेतृत्वमा निर्वाचन समिति बनाएको थियो। उक्त समितिलाई मंसिरभित्रै समायोजनको काम सक्ने गरी जिम्मेवारी दिइएको थियो। तर, समितिले अहिलेसम्म काम टुंगो लगाउन सकेको छैन।
देउवाले दाहाल नेतृत्वको निर्वाचन समितिले समायोजनको काम सकेको प्रतिवेदन पेस गरेपछि महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव पौडेललाई राखेका थिए। तर, पौडेलले भने पार्टीभित्रको विवाद समाधानका लागि सम्बाद गरी समाधान निकाल्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वको समितिसँग वार्ता गर्न भनेका थिए। उक्त समितिमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी छन्।
देउवाले पौडेलले बनाएको समितिसँग वार्ता गरी समाधानको बाटो खोज्न उपसभापति निधिलाई नै जिम्मेवारी दिएका छन्। उपसभापति निधिले छिट्टै समस्याको समाधान गरिने बताए।
‘केही कुरा नमिलेको हो। हामी बसेर टुंग्याउँछौं,’ निधिले भने,‘ उहाँहरु सम्भवत आइतबारको बैठकमा सहभागी हुने वातावरण बन्छ।’
बिहीबारको संस्थापन इतरको समूहले बहिष्कार गरेको बैठकमा सभापति देउवाले विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगायत ९ बुँदे प्रस्ताव पेश गरेका थिए।
पौडेल समूहले भने विभागको संख्या बढाउने विषयमा आफूहरुसँग छलफल नै नगरी प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।
बोहोराटारमा भएको छलफलमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति निधि र केन्द्रीय सदस्य थानी सहभागी थिए।






