Kathmandu Press

आज कुकुर तिहार र लक्ष्मीपूजा

नेपालीको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ।
आज कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं, कात्तिक ७ : नेपालीको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यसैले बिहान कुकुर तिहार मनाइँदै छ भने साँझ लक्ष्मीको पूजा गरिनेछ।

घरघरमा सुरक्षा गर्ने कुकुरको पूजाआराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदै छ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमको भनाइ छ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।

त्यस्तै, आजै लक्ष्मीपूजा पनि परेको छ। आज साँझ घरघरमा दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गर्ने प्रचलन छ।

प्रकाशित मिति: ०७:०२ बजे, सोमबार, कात्तिक ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्