Kathmandu Press

प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भयो।
प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

काठमाडाैं, कात्तिक ६ : प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भयो।

उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे।

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्।

राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तर्राष्ट्रियजगतबाट उच्च मूल्यांकन हुने सेनाले विश्वास लिएको छ।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्