Kathmandu Press

यम पञ्चक: आज काग तिहार

यम पञ्चक अर्थात तिहार शनिबारदेखि नै शुरु भए पनि काग तिहार भने आज परेको छ।
यम पञ्चक: आज काग तिहार

काठमाडौं, कात्तिक ६: यम पञ्चक अर्थात तिहार शनिबारदेखि नै शुरु भए पनि काग तिहार भने आज परेको छ।

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार देशभर कागको पूजा गरि मनाइँदै छ। यसमा अवसरमा कागलाई विभिन्न परिकार खानेकुार दिने प्रचलन छ।

हिन्दू समाजमा यमराजको दूत वा सन्देशबाहक पन्छीको रूपमा कागको पूजा गर्ने परम्परा छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिने गरिन्छ।

तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ।

यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि शुरु हुन्छ।   

कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ।

प्रकाशित मिति: ०६:२६ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्