एमाले र माओवादी परित्याग गर्दै धादिङका बस्नेत दाजुभाई कांग्रेसमा प्रवेश
माओवादी परित्याग गरेका बस्नेतले जिल्लामा माओवादी पार्टी शालिकराम जम्मकट्टेलको कम्पनीजस्तो भएको आरोप लगाएका छन्।
धादिङ, कात्तिक ५ : नेकपा माओवादी केन्द्र धादिङ जिल्ला कमिटी सदस्य तथा वाइसिएल वाग्मती प्रदेश कमिटी सदस्य इश्वर बस्नेत नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनीसँगै उनका दाई राम बस्नेत पनि कांग्रेसमा प्रवेश गरेका छन्। राम बस्नेत नेकपा एमाले ज्वालामुखी गाउँपालिका–२ कमिटीका अध्यक्ष हुन्।
शनिबार काठमाडौंको नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बीच उनीहरुसहित ४ जना कांग्रेस प्रवेश गरेका हुन्। नवप्रवेशी चारै जनालाई नेपाली कांग्रेसका धादिङ सभापति रामनाथ अधिकारीले पार्टीमा स्वागत गरेका छन्।
माओवादी परित्याग गरेका बस्नेतले जिल्लामा माओवादी पार्टी शालिकराम जम्मकट्टेलको कम्पनीजस्तो भएको आरोप लगाएका छन्। पार्टीले बारम्बार आफ्नो योगदानलाई तिरस्कार गर्दै जिम्मेवारीविहीन बनाइएकोले बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताए।
माओवादीमा रहँदा बस्नेतमाथि गएको स्थानीय निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोप लागेको थियो। जिल्ला कमिटीले उनलाई तीन महिनासम्म जिम्मेवारीविहीन बनाएपछि असन्तुष्ट रहेका बस्नेतले आफू वाध्य भएर कांग्रेसको राजनीतिमा लाग्नुपरेको बताए।
त्यसअघि जिल्लामा वाइसिएलको अध्यक्ष चुन्दा पनि उनी असन्तुष्ट थिए। पार्टीभित्र आफ्नो योगदानलाई कदर नगरिएकाे भन्दै बस्नेत पार्टीप्रति असन्तुष्ट बनेका थिए।
०७४ सम्म माआवादी केन्द्रमा आवद्ध राम बस्नेत वाम गठबन्धन, नेकपा हुँदै पुनः माओवादी र एमाले छुट्टाछुट्टै पार्टी बनेपछि एमालेमा लागेका थिए। ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार रहेका उनी फराकिलो मतान्तरले पराजित भएका थिए।
एमालेमा उनी २ नम्बर वडा कमिटीको अध्यक्ष रहँदै वैशाख ३० को स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका थिए। पार्टीभित्र योगदान नै नगरेको व्यक्तिले जिल्लाको कमिटीबाट पावर लगाएर टिकट ल्याएको भन्दै वडाको सिंगो कमिटी नै बस्नेतविरुद्ध लागेर उनलाइ पराजित गरेका थियाे ।
बस्नेतले भने पार्टी विधि पद्धतीमा नचलेको कारण छाडेको बताए। स्थानीय निर्वाचनमा आफू पार्टीको आधिकारिक उम्मेदवार हुँदा सिंगाे वडा कमिटी नै आफूविरुद्ध लागेको उनले बताए। त्यसकारण आफू पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेको उनले बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










