Kathmandu Press

तनहुँ-२ मा दुई पूर्ववनमन्त्रीसहित १० जना चुनावी मैदानमा

प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि ६ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका १० उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छिन्।
तनहुँ-२ मा दुई पूर्ववनमन्त्रीसहित १० जना चुनावी मैदानमा

तनहुँ, कात्तिक ५ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित १० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि ६ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका १० उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छिन्।

सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्ववनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी चुनावी मैदानमा छन्। नेकपा एमालेका तर्फबाट पूर्ववनमन्त्री एवं स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

ठूला पार्टीका अलवा यो क्षेत्रमा राप्रपाका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रविना थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी प्रतिस्पर्धामा छन्।

प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, एमालेका श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मंगाेल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा एकीकृत समाजवादीका दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन्। 

प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, एमालेका केदार सिग्देल, मङ्गोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, एकीकृत समाजवादीका प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

चुनावी प्रतिस्पर्धामा रहेका दुई पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा वनमन्त्री बनेका थिए। गुरुङ २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा एमालेको समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा वनमन्त्री हुनुहुन्थ्यो भने भण्डारी दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्दा विसं २०७३ सालमा वनमन्त्री बनेका थिए।

गुरुङ क्षेत्र नम्बर २ अन्तर्गतकै साविक भानुमति गाविस हाल भिमाद नगरपालिका–९ नम्बर ९ का स्थायी बासिन्दा हुन्। भण्डारी क्षेत्र नम्बर १ को साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–९ का स्थायी बासिन्दा हुन्। भण्डारी विसं २०७० मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका थिए। 

प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङ २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट प्रदेशसभामा निर्वाचित बनेका थिए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गुरुङ अर्थमन्त्री नियुक्त भएका थिए। 

आफूले विभिन्न समयमा प्राप्त गरेको संसदीय जिम्मेवारीको क्रममा तनहँु क्षेत्र नम्बर २ मा विकासको कामलाई तीव्रता दिएको गुरुङ बताउँछन्।

'समृद्ध तनहुँ निर्माणका लागि थप योगदान गर्ने लक्ष्यसहित प्रतिनिधिसभामा उम्मेदवारी दिएको छु,' गुरुङले भने, 'मैले गरेको कामको आधारमा म विजयी हुन्छु भन्नेमा निश्चित छु।' प्रतिनिधिसभा सदस्य उम्मेदवार भण्डारीले विगतदेखि कम्युनिष्टले जित्दै आएको यस ठाउँमा विकासले सोचे जति गति लिन नसकेको हुँदा यसपटक आफूहरूले चुनाव जित्ने बताए। 'तनहुँ क्षेत्र नम्बर २ विकासमा पछाडि पर्‍यो, यसपटकको निर्वाचनमा हामीहरु चुनाव जितेर विकासका योजनालाई अगाडि बढाउँछौं,' भण्डारीले भने।

एक लाख २५ हजार मतदाता

तनहुँ क्षेत्र नम्बर २ मा कूल एक लाख २५ हजार पाँच मतदाता छन्। त्यसमध्ये तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार नौ सय ७३ मतदाता छन्। यो क्षेत्रमा कूल ४३ वडा पर्छन्। त्यसमध्ये प्रदेश १ मा २१ र प्रदेश २ मा २२ वडा छन्। प्रतिनिधिसभामा एक सय ५३ मतदान केन्द्र छन्। प्रदेश १ मा ८० र प्रदेश २ मा ७३ मतदात केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्