‘संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन बनेकाे हाे’
लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे।
विराटनगर, कात्तिक ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए।
लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे।
पूर्वराजा ज्ञानेन्द्र शाह तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि बताए। ‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोसिस गरेका छन्,’ उनले भने, ‘त्यसलाई जनताले चिन्नुपर्छ।’
नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्ने उनले बताए। गठबन्धनका सबैले आपसी मनमुटाव हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य रहेकाे बताए।
कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानलाई सही मार्गमा लैजान, असल शासन, लोकतन्त्र एवं समुन्नत समाज निर्माण गर्न गठबन्धन आवश्यक रहेको चर्चा गरे।
कांग्रेस प्रदेश नं १ समितिका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी प्रदेश नं १ समितिका अध्यक्ष बलदेव चौधरीले पनि गठबन्धनको महत्वमाथि प्रकाश पारेका थिए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










