गठबन्धनमा एकले अर्कालाई सघाएर मंसिर ४ काे संग्राम जित्नुपर्छ : प्रचण्ड
‘हामी एक ढिक्का छौं, तपाईंहरू पनि एकताबद्ध हुनुहोला। भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा आपसमा हाल्नुहोला,’ उनले भने। उनले चुनाव जिते अवसरै अवसर प्राप्त हुने समेत बताए।
काठमाडाैं, कात्तिक ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेताकार्यकर्ताले कुनै अप्ठ्यारो नमानी एकले अर्कालाई चुनावमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
लाेकतान्त्रिक-वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी शान्ति प्रक्रियामा आएकै दिन आफूले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालेको तर्क गर्दै अहिलेको निर्वाचन संग्रामका रूपमा हुन लागेकाले गठबन्धन दलका नेताकार्यकर्ताले नहिच्किचाईकन एकहर्कालाई सहयोग गर्नुपर्ने र संग्राम जित्नुपर्नेमा जोड दिएका हुन्।
प्रचण्डले हाल टिकट नपाएर असन्तुष्ट नेताकार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने जिकिर पनि गरे। ‘मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने, ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीत तहमा यो परिणाम आउँदैनथियो’ उनले भने। आउने निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए।
‘हामी एक ढिक्का छौं, तपाईंहरू पनि एकताबद्ध हुनुहोला। भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा आपसमा हाल्नुहोला,’ उनले भने। उनले चुनाव जिते अवसरै अवसर प्राप्त हुने समेत बताए।
उनले ठुल्ठुला राजनीतिक परिवर्तन भए पनि जनतालाई समृद्धि र सुशासन दिन नसकिएको बताए। अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिन वाम लोकतान्त्रिक गठबन्धनले जित्नैपर्ने उनको भनाइ थियो। आफूहरुको गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको भएको उल्लेख गर्दै उनले एमाले नेतृत्वको अर्को अर्को गठबन्धन गोरूगाडावालाहरुको भएको बताए।
विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि कांग्रेससहितको गठबन्धन निर्माण गरिएको बताउँदै उनले भने, ‘अन्तिम विजयको यात्रामा छौ, त्यसकारण लोकतन्त्र विरोधी, परिवर्तन विरोधी, प्रतिगामीलाई पराजित गर्नुपर्छ।’
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










