Kathmandu Press

‘संविधानको रक्षाका लागि गठबन्धन निर्माण भयाे’

नेता गुरुङले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको पनि बताए ।
‘संविधानको रक्षाका लागि गठबन्धन निर्माण भयाे’

काठमाडौं, कात्तिक ५ : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउएका छन्।

गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौं सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले शनिबार सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि उक्त गठबन्धन भएको उल्लेख गरे।

नेता गुरुङले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको पनि बताए । मंसिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे।

कृषि, पर्यटन, जलविद्युतमार्फत लमजुङको विकास गर्न सकिने बताउँदै उनले यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए। घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उहाँको भनाइ छ ।

उनले मस्र्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए।

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्