Kathmandu Press

पुनहिलमा पर्यटकको घुइँचो

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
पुनहिलमा पर्यटकको घुइँचो

गलेश्वर, कात्तिक ५ : म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल शुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। दशैं र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन्।

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो। निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन्।

विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले बताए। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ।

पुनहिल समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको छ। घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ।

असोजको शुरुआतसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन्। पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताए।

पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ। दशैंसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ। धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण आधारशिविर (एबीसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेको प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताए।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय बेड छन्। अन्नपूर्ण फन्को मार्न र दशैंतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन्। (रासस)

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्