सरकारलाई संसदीय समितिको निर्देशन- लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तत्काल सावर्जनिक गर्नू
काठमाडौं, मंसिर २७ : संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्....
काठमाडौं, मंसिर २७ : संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार बसेको समितिको बैठकले भारतले आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरालाई समावेश गरेकाले तत्काल नेपालको नक्सामा त्यसलाई समेटेर सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका विषयमा छलफल गर्न शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई बोलाएको थियो।
उनीहरुसँगको छलफलपछि समितिले तत्काल लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपाली भूमिलाई समावेश गरेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको हो।समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न पनि सरकारलाई भनेको छ।
यस्तै, समितिको बैठकले नेपाली भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाका कालापानी समेतको क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
भारतले नेपालको लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक भएपछि त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन्। सरकारले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गरिरहेको र भारतलाई पत्राचार गरेको बताउँदै आएको छ।
तर, ठोस रुपमा सीमा विवादका विषयमा नेपाल र भारतबीच अहिलेसम्म कुनै कुराकानी वा वार्ता हुन सकेको छैन।






