खाेटाङमा मतदाता रिझाउन उम्मेदवार व्यस्त
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।
खोटाङ, कात्तिक ४ : आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न खोटाङका उम्मेदवार घरदैलोमा अभियानमा जुटेका छन्।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।
पुराना अनुहारका उम्मेदवार यसअघि आफ्नो कार्यकालमा पूरा गर्न बाँकी योजना गर्न तथा नयाँ अनुहारका उम्मेदवार एकपटक अवसर दिन अनुरोध गर्दै दिनरात नभनी घरघर पुगेर मतदाता रिझाउन व्यस्त देखिएका छन्। जिल्लाका मतदाता भने मङ्सिर ४ गते हुने निर्वाचन कुरेर बसेका छन्।
एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा २६ नेता चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले यही कात्तिक १३ गतेभन्दा अगाडि सभा–सम्मेलन गर्न रोक लगाए पनि उम्मेदवारले पार्टीको विस्तारित बैठक, शुभकामना आदान–प्रदान, कार्यकर्ता भेटघाटलगायत विभिन्न बहानामा बृहत् कार्यक्रम गरिरहेका छन्।
दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको छ। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्र तथा प्रदेशसभा (क) मा एकीकृत समाजवादी र प्रदेशसभा (ख) मा कांग्रेसले टिकट पाएको छ।
माओवादीबाट पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क) मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख) मा कांग्रेसका १ नं प्रदेशका महामन्त्री भूपेन्द्र राई चुनावी गठबन्धनबाट साझा उम्मेदवार छन्। पासाङ र वीरबलकाजी बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा तथा भूपेन्द्र सोही नगरपालिकाको वडा नं ६ नेर्पामा छन्।
केन्द्रमा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) र एमालेका नेता खोटाङमा भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। जसपाबाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डा. कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा (क) मा केन्द्रीय सदस्य राकेश राई र प्रदेशसभा (ख) मा प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेबाट पोलिटब्यूरो सदस्य विशाल भट्टराई प्रतिनिधिसभा तथा प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ प्रदेशसभा (क) र जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले प्रदेशसभा ९ख०मा उम्मेदवारी दिएका छन्। एमालेबाट उम्मेदवारी दिनुभएका तीनैजना नेता अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरिरहेका छन्।
जसपाका उम्मेदवार पनि अहिले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई रिझाउन दिनरात नभनी गाउँगाउँमा डुलिरहेका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाअनुसार खोटाङमा जसपा पाँचौँ दल हो। जिल्लाका अन्य साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर–घरमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्यका लागि एकमात्र उम्मेदवार सर्जु श्रेष्ठलाई अगाडि सारेको छ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क) मा केशव राई र प्रदेशसभा (ख) मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ। मंगाेल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ९क०मा प्रयाग राई र प्रदेशसभा (ख) मा विमला राईले उम्मेदवारी दिएका छन्।
यस्तै आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख) मा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। निर्वाचन आयोगको तथ्याङ्कानुसार छ पालिका प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको कांग्रेस जिल्लामा पहिलो तथा दुई पालिका प्रमुख, दुई उपप्रमुख र २४ वडाध्यक्ष जितेको माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ।
भर्खरै स्थापना भएको एकीकृत समाजवादीले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ। गत स्थानीय तहको निर्वाचनमा एमाले खोटाङ जिल्लामा दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा तेस्रो भएको छ।












