‘गठबन्धनलाई दिगो रुपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षा हुन्छ’

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । ‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुपर्छ,’ उनले भने।
व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए। व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ थियो ।
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे। गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको बताए।।
सो अवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश ९क०का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए। वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीब्रता दिएका छन्। यसक्रममा उनले व्यास,भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका थिए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










