कर्णालीमा भेट्ने बाचासहित नवौं राष्ट्रिय खेलकुदको भव्य समापन
आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौं राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । दसौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने छ।
कास्की, ४ कात्तिक : गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रंगशालाबाट हजारौंको उपस्थितिमा भव्य समापन गरिएको छ ।
आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौं राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । दसौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने छ।
नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेपछि पोखराले राष्ट्रिय खेलकुदको बिदाइ गरेको हो।
विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, मार्चपास र आतिशबाजीसहित भव्य समारोहका बीचमा नवौंको बिदाइ गरियो । पोखरा रङ्गशालामा भरिभराउ दर्शकले खुसीयाली मनाउँदै राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा सहभागिता जनाए ।
गण्डकी प्रदेशका आठ जिल्लामा गतअसोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका ३६ खेल सञ्चालन भए । केही गुनासा, केही अभाव र अव्यवस्थाका बीचमा समग्रमा गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद भव्य बनेको खेलकर्मीको बुझाइ छ ।

चार दशकपछि आयोजनाको जिम्मेवारी पाएको गण्डकीले भव्य गरेर प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा छ हजारभन्दा बढी खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे, नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम भयो र प्रतियोगिता सकियो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ। आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्यो । यसअघि सातौं र आठौ राट्रिय खेलकुदमा पनि आर्मी च्याम्पियन बनेको थियो।
प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो। च्याम्पियन बनेको आर्मीले सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्राप्त ग¥यो।
यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैठौं भएको छ।
सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ।











