काभ्रेमा सत्ता गठबन्धनको घरदैलो अभियान, मतदातामा उत्साह
प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं. ५ शिसाखानीबाट घरदैलो सुरु भएको प्रदेशसभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए।
काभ्रे, कात्तिक ३ : सत्तारुढ गठबन्धनले काभ्रेमा घरदैलो अभियान थालेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनका दलहरुले काभ्रेमा संयुक्त घरदैलो अभियान थालेका हुन्।
काभ्रे क्षेत्र नं. १ बाट गठबन्धनले घरदैलो तथा जनता भेटघाट कार्यक्रम सुरु गरेको हो। प्रदेश सभा १ (क) का प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो।
प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरि त्यो अवसर दिन अनुरोध गरे।
यस्तै, प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं. ५ शिसाखानीबाट घरदैलो सुरु भएको प्रदेशसभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए। सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार तिर्थबहादुर लामालगायत नेता कार्यकर्ताले घरदैलो थालेका हुन्।

प्रदेशसभा सदस्यका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए। सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान सुरु गरेको छ।
काभ्रे क्षेत्र नं. २ मा पनि सत्ता गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान सुरु गरेको छ। क्षेत्र नं. २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेशसभा कका लक्ष्मण लम्साल, समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान गरिहेको छ।
स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आश्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताए। उनले भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै सत्ता गठबन्धनले समाधान गर्ने बताए।

प्रदेशसभा २ (ख)ले पनि बेथानचोक गाउँपालिकामा घरदैलो र भेटघाट गरेको छ। क्षेत्र नं. २ का उम्मेदवार हुमागाईसहित प्रदेशसभा खका उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य रहेका एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, माओवादी केन्द्रका मिना तामाङ, समानुपातिक उम्मेदवार भोला अर्याल, सुरकृष्ण वैद्य, कांग्रेस नेता इन्द्रमणि अधिकारी, अच्युतप्रसाद पौडेल, प्रेमबहादुर तिमल्सिनालगायतले गठबन्धनका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताए।
२ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना प्रतिस्पर्धामा छन्। क्षेत्र नं. १ मा ३५ र क्षेत्र नं. २ मा १६ जनाको उम्मेदवारी परेको छ।


![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










