खोखो प्रतियोगितामा पुरुषतर्फ आर्मीलाई स्वर्ण

कास्की, कात्तिक ३ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ।
लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो। महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ। विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो।
राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन्।
पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो।
पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ। बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो। असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए।











