हिमपातले परीक्षा स्थगित, कहाँ-कहाँ पर्यो हिउँ?
काठमाडौं, मंसिर २७ : पश्चिमी वायुका कारण देशभरको मौसममा फेरबदल आएको छ। केही ठाउँमा हिमपात भएको छ भने देशभर वर्षा भइरहेको छ।
हिमाली जिल्ला डो....

काठमाडौं, मंसिर २७ : पश्चिमी वायुका कारण देशभरको मौसममा फेरबदल आएको छ। केही ठाउँमा हिमपात भएको छ भने देशभर वर्षा भइरहेको छ।
हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो।
नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो।
बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुनसक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले बताए।
प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले बताए। भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए।
भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करीब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन्। नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा शुरु भएको थियो।
त्यस्तै, मनाङ सदरमुकाम चामेदेखि माथिल्लो क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ। बिहीबार दिनभर बादल लागेको र माथिल्लो मनाङमा हिमपात भएपनि शुक्रबार बिहानदेखि चामेवरपर पनि हिउ पर्न थालेको एक्याप मनाङका कैलाश तिवारीले जानकारी दिए। उनका अनुसार हिमपातवाट हालकुनै कुनै अप्रिय घटना घटेको छैन।
यस्तै, पर्यटकीय क्षेत्र रारामा बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन्। रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ।
रारा तालभन्दा आधा घन्टा दूरीमा रहेको मुर्मा टपलाई पनि हिउँले ढाकेको छ।
बाजुरामा बिहीबार अपराह्नदेखि हिमपात र वर्षा सुरु भएको छ। मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात सुरु भएको हो।
अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ।
यसैगरी, शुक्राबार बिहानैदेखि हिमाल पारीको जिल्ला मुस्ताङमा भारि हिमपात भएको छ। मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ।
तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ।











