पुरुष भलिबलमा एपिएफलाई स्वर्ण
पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
कास्की, कात्तिक ३ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ।
पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७–२५ ले जितेको थियो।
तेस्रो सेट २६–२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो। नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो। कास्य पदकका लागि बिहीबार नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–० को साझो सेटमा पराजित गरेको थियो।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २५–१४ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २५–१८ ले जित हात पारेर पुलिसले कास्य पदक जितेको हो।











