Kathmandu Press

निसिमलाई सम्झँदै सकियो प्याराग्लाइडिङ, अभ्यास खेलको नतिजाका आधारमा पदक

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ। प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो।
निसिमलाई सम्झँदै सकियो प्याराग्लाइडिङ, अभ्यास खेलको नतिजाका आधारमा पदक

कास्की, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ। प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ।

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ। प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो। उनका काका भेनस थापाले पदक लिए। थापाको नाममा पोखरा रंगशालामा अर्धकदको सालिक बन्नेछ। बीमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए। नेपाल आर्मीको समूहले ब्यानरमा उनको रङ्गीन तस्बीरसहित 'वी विल मिस यु...' लेखेको छ।

मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उनका परिवारलाई भेट्न गएको छ। खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतिजालाई आधार मानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए।
    
क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाल आर्मीले समान तीनतीन स्वर्ण जितेका छन्। जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ। खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल दुई हजार सात सय ५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो।
    
विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ। कुल दुई हजार ५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो। टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी हुनुहुन्थ्यो। उक्त टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो।
    
बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ। कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी हुनुहुन्थ्यो। उहाँहरुले कूल दुई हजार एक सय ४८।३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ।
 
व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ। आर्मीका सुरुज थापाले कूल एक सय अङ्कसहित स्वर्ण पदक हात पारेका हुन्। सोही खेलमा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेको छ। उनले कुल नौ सय ४८.६ अंक हात पारेका थिए। त्यस्तै, वाग्मतीका कृष्णबहादुर सुनुवारले कास्य पदक जित्नुभएको छ।

उनले कुल नौ सय २५.६ अंक प्राप्त गरेका थिए। प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने एक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ।

त्यस्तै महिला टिम एक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ भने महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले स्वर्ण पदक प्राप्त गरेको छ। क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्